पशुपतिमा तीजको तयारी पूरा: भोलि बिहान ३ बजेदेखि चारै ढोका खोलिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका सोमबार बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तीजका दिन पशुपतिनाथमा आउने व्रतालु तथा दर्शनार्थीको भीडलाई व्यवस्थित गर्दै सहज र सुरक्षित रूपमा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषले आइतबार पत्रकार सम्मेलनमार्फत तीजका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिएको हो।

यस वर्ष पनि पशुपतिनाथमा विशेष पूजा तथा विशेष दर्शन पासको व्यवस्था नगरिने कोषले स्पष्ट पारेको छ। दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश गराउन उत्तर, पूर्व र दक्षिणतर्फका ढोकामा पारदर्शी जाली राखिनेछ।

मन्दिर परिसर बाहिर पाँचवटा र भित्र आठवटा लाइनको व्यवस्था गरिनेछ। ती लाइनबाट एकपटकमा आठ जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

भीड व्यवस्थापनका लागि विभिन्न स्थानबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै चारवटा दर्शन मार्ग निर्धारण गरिएको छ। मित्रपार्क-उमाकुण्ड, गौशाला-जयबागेश्वरी, सिनामंगल-तिलगंगा र पिंगलास्थानतर्फबाट आउने दर्शनार्थीलाई अस्थायी आकाशे पुल तथा र्‍याम्पमार्फत मन्दिर परिसर प्रवेश गराइनेछ।

तीज पर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले संयुक्त सुरक्षा योजना लागू गर्नेछन्। पाकेटमारीलगायतका अवाञ्छित गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।

महिलाको विशेष पर्व भएकाले निश्चित कोर क्षेत्रभित्र पुरुषको प्रवेशमा रोक लगाइनेछ। नियमित पुरुष दर्शनार्थीले भने बिहान ५ः३० बजेसम्म दर्शन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

पशुपति क्षेत्रमा मांस, मदिरा तथा अन्य नशाजन्य पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइनेछ। स्थानीय बासिन्दाका लागि भने सम्बन्धित वडाबाट जारी पासका आधारमा आवतजावतको व्यवस्था मिलाइने कोषले जनाएको छ।