
काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि भने थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम दिने निर्णय गरिएको छ।
उनका अनुसार बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिएका हुन्।
मासिक नगद सुविधा लिन नचाहने परिवारका लागि सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत उपलब्ध गराएको मन्त्री तिमिल्सिनाले बताएका छन्।
आवास खर्च तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक परिवारको विवरण र तथ्यांक संकलनका लागि सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको उनले जानकारी दिए।