
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रम पुनः सुरु हुने भएको छ । आन्तरिक राजस्व विभागले यसअघि भदौ १६ गते गर्ने भनिएको उपहार घोषणा कार्यक्रम असोज १ गते गर्ने तयारी गरेको हो।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते भदौ महिनाभरका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरिनेछ । त्यस क्रममा भदौ १ देखि १५ गतेसम्म र भदौ १६ देखि ३१ गतेसम्मको छुट्टाछुट्टै उपहार घोषणा गरिने छ ।
भदौ महिनामा एक सय रुपैयाँभन्दा बढीको सेवा तथा वस्तु खरिद गरेका उपभोक्तामध्येबाट ३१ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गरिनेछ।
यस्तै, दुई जनालाई बम्पर उपहारस्वरूप १० -१० लाख रुपैयाँ प्रदान गरिने विभागले जनाएको छ।