
काठमाडौँ । नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेको उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।
प्रहरीका अनुसार थापा मगरले नक्कली सुनलाई सक्कली भन्दै पीडितबाट १ करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम लिएका थिए। पक्राउपछि उनको साथबाट ८६५ ग्राम नक्कली सुनसमेत बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
थापा मगर यसअघि बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन् । जेनजी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट भागेका थिए।