कृष्णभिर सडक एकतर्फी सञ्चालन, रोकिएका ग्यास बुलेट र गाडी पठाइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक एकतर्फी सञ्चालनमा आएको छ। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको फेद कटान गरेपछि सडक भासिएको थियो । त्यसपछि सडक विभागले छेउको पहाड काटेर नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याएको हो।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने काम सकेर ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको सडक विभागले जनाएको छ। तत्कालका लागि केही समयदेखि रोकिएका ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्रै आवतजावत गर्न दिइएको छ।

सडकको अवस्था हेरेर अन्य सवारीसाधनलाई समेत सहज रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने जनाइएको छ। यद्यपि सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ।

कृष्णभिरबाट ग्यास बुलेटहरू काठमाडौँतर्फ अघि बढ्न थालेकाले केही समयदेखि काठमाडौँ उपत्यकामा देखिएको ग्यास अभावसमेत केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।