काभ्रेका महिलाले तीजको खर्च कटाएर बाढीपीडितलाई १ लाख ६ हजार सहयोग

दियोपोस्ट संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका महिलाहरूले तीजका लागि छुट्याएको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गरेका छन्।

पाँचखाल नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले तीजको दर खाने कार्यक्रमका लागि छुट्याएको १५ हजार ५४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । पाँचखाल-३, ४, ५ र ६ का महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबहिनी समूह’ले भदौ १० गते उक्त रकम कोषमा जम्मा गरेका हुन्।

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत पुगोस भन्ने उद्देश्यले दर खाने कार्यक्रमको खर्च कटाएर रकम सहयोग गरिएको समूहकी सदस्य सरस्वती भेटवालले बताइन्।

यसैगरी, नमोबुद्ध नगरपालिकाका महिलाहरूले पनि यस वर्ष तीज विशेष कार्यक्रम नगरी बाढीपीडितका लागि  ९१ हजार ३४५ सहयोग गरेका छन्। नगर महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा महिलाहरूले गत साता उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

नमोबुद्ध नगरको महिला सञ्जालले तीज कार्यक्रमका लागि हुने खर्च कटाएर बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेपछि रकम कोषमा जम्मा गरिएको हो।