लालबकैया खोलामा बग्दै आएको २७.४७ क्युबिक फिट सालको काठ बरामद

दियोपोस्ट संवाददाता

रौतहट । डिभिजन वन कार्यालय रौतहटको टोलीले लालबकैया खोलाबाट अवैध रूपमा बग्दै आएको ठूलो परिमाणको साल जातको काठ बरामद गरेको छ । वन कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले बुधबार राति लालबकैया खोलाको पानीमा बगाएर ल्याइएको अवस्थामा सालको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालयका अनुसार २०८३ साल भदौ २९ गते बिहान करिब २ बजे जङ्गलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया खोलाको गर्जा पुलदेखि करिब २०० मिटर माथिल्लो भागमा वन कर्मचारी तथा सुरक्षाकर्मीको टोलीले गस्ती तथा निगरानी गरिरहेको थियो । सोही क्रममा खोलाको पानीमा काठ बगाएर ल्याइएको देखिएपछि टोलीले तत्काल नियन्त्रणमा लिएको हो ।

वन अधिकृत अनिल कुमार महतो, वन अधिकृत विनोद जेठरा र वन अधिकृत शेरबहादुर बुढाको संयुक्त गस्ती टोलीले काठ बरामद गरेपछि थप मद्दतका लागि जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी सम्मिलित टोलीसमेत घटनास्थलमा पुगेको वन कार्यालयले जनाएको छ ।

बरामद काठमध्ये साल जातका गोलिया चार थान र चौपाटा एक थान गरी जम्मा पाँच थान रहेका छन् । वन कार्यालयका अनुसार बरामद काठको कुल परिमाण २७।४७ क्युबिक फिट रहेको छ ।

वन कर्मचारी तथा सुरक्षाकर्मीको टोलीलाई देखेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरूले काठ खोलामै छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको जनाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको वन कार्यालयले जनाएको छ ।

बरामद काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित वन कार्यालयको नियन्त्रणमा राखिएको छ। काठ कहाँबाट कटान गरी खोलामा बगाएर ल्याइएको थियो र घटनामा कति व्यक्ति संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

डिभिजन वन कार्यालय रौतहटले वन क्षेत्रबाट हुने अवैध कटानी, वन पैदावारको ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि गस्ती र निगरानीलाई तीव्रता दिएको जनाएको छ । वन कर्मचारी र सुरक्षाकर्मीबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै अवैध वन पैदावार नियन्त्रणमा नियमित रूपमा कारबाही अघि बढाइने कार्यालयको भनाइ छ ।

लालबकैया खोलाबाट काठ बगाएर ल्याउने घटना यसअघि पनि देखिँदै आएको भन्दै वन क्षेत्रको अवैध कटानी नियन्त्रणसँगै खोलाको माध्यमबाट हुने वन पैदावार तस्करीमाथि समेत निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

सम्बन्धित खबर