
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थामा धाकधम्की दिएको आरोपमा झापाका सुजन विश्वकर्मा पक्राउ परेका छन् ।
हल्दीबारीमा बस्दै आएका विश्वकर्माले आफू प्रधानमन्त्री तथा गृहमन्त्रीसँग निकट सम्बन्धमा रहेको भन्दै विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रभाव जमाउने गरेको आरोप छ ।
विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र रास्वपा सांसद खगेन्द्र सुनारको नाम लिदै ,कर्मचारी र जनप्रतिनिधिलाइ धम्काउदै ब्लाकमेलिङ्ग गर्ने गरेको आरोप छ । उनले आफुलाई प्रधानमन्त्री कार्यालयबाट आएको भन्दै एक इन्जिनियरबाट डेढलाख असुल्नुका साथै सरकारी गाडीमा सवार गर्ने गरेको बताइएको छ । उनी २ वर्ष अघि झापा हल्दिबारी मा मोबाइल चोरिमा समेत पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफूलाई रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्यका रूपमा परिचय दिँदै विभिन्न ठाउँमा प्रवेश गर्ने र सोही परिचयका आधारमा दबाब तथा धाकधम्की दिने गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका विश्वकर्माविरुद्ध झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले विश्वकर्माले झूटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानी-नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न आग्रह गरेको छ ।
विश्वकर्माले सामाजिक सञ्जालमा आफू रास्वपाका नेताहरूसँग निकट रहेको देखाउने गरी गृहमन्त्री सुधन गुरुङ, कानूनमन्त्री शोविता गौतम, सांसद खगेन्द्र सुनुवारलगायतका नेतासँग खिचिएका तस्बिरसमेत पोस्ट गर्दै आएका थिए ।