
काठमाडौँ । नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले मंगलबार दिउँसो क्यासिनोमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका-६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका-३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोही जिल्लाको दूधकुण्ड नगरपालिका-९ का ३९ वर्षीय पासाङ शेर्पा, सिन्धुली गोलन्जोर गाउँपालिका-५ की ३२ वर्षीया ज्योति मगर र दोलखा बैतेश्वर गाउँपालिका-८ का ३५ वर्षीय नारायण खत्री छन् ।
त्यस्तै काठमाडौंका ४४ वर्षीय दिल लामा, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१ का ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका-३ का ३२ वर्षीय सञ्जय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका- ४ का ४० वर्षीय आशिष खड्का, ललितपुरका ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका-४ का ३० वर्षीय सुदीप अधिकारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले क्यासिनोबाट जुवा खेल्न प्रयोग हुने विभिन्न दरका क्वाइन, ९ थान मोबाइल र १० लाख ८५ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको छ ।
बरामद क्वाइनमध्ये ५० हजार रुपैयाँ दरका ८ थान, १० हजार रुपैयाँ दरका १९ थान, १ हजार रुपैयाँ दरका ८८ थान र १ सय रुपैयाँ दरका ५ थान रहेका छन् । पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि दुई दिनको म्याद थप गरिएको छ ।