भारतबाट ल्याइएको पेट्रोल चोरी गरेको आशंकामा भैरहवामा दुई ट्याङ्कर नियन्त्रण

दियोपोस्ट संवाददाता

भैरहवा । भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको आशंकामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला परेका हुन् ।

प्रहरीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो । भारतबाट भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ बोकेर आएका ती ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेपछि तेल निकालिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै ट्याङ्करको सिल तोडिएको अवस्थामा थियो । ट्याङ्करबाट पेट्रोलियम पदार्थसमेत निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि प्रहरीले दुवै ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस