
काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाहरूले राहत अभियानलाई निरन्तरता दिएका छन् ।
यसैक्रममा काठमाडौँमा रहेको ग्लोबल इन्टरनेसनल एजुकेसन फाउन्डेसनका संस्थापक सञ्जीव लम्सालसहितको टोलीले नुवाकोट तथा गल्छी क्षेत्रका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
बाढीका कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई लक्षित गरी विद्यार्थीका लागि झोला, कापी, कलम, ज्योमेट्री बक्सलगायत शैक्षिक सामग्रीका साथै खाद्यान्न, चप्पल, टेन्ट, कराई, कुकर, ओढ्ने-ओछ्याउने सामग्री र अन्य आवश्यक राहत सामग्री वितरण गरिएको हो ।
राहत सामग्री नेपालका विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहरूबाट संकलन गरिएको थियो। हङकङस्थित नेचुरल साउण्ड हिलिङ इन्टरनेसनल स्कुलका विद्यार्थीहरूबाट समेत राहत अभियानका लागि सहयोग प्राप्त भएको बताइएको छ ।
विदेशमा रहेका नेपाली तथा सहयोगी मन भएका व्यक्तिहरूको सहयोगबाट जुटाइएको सामग्री प्रभावित क्षेत्रसम्म पुऱ्याएर स्थानीयको आवश्यकताका आधारमा वितरण गरिएको लम्सालले बताए ।
शिक्षा तथा कन्सल्टेन्सी व्यवसायमा लामो समयदेखि सक्रिय लम्सालले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताएका छन् । विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
राहत वितरणका क्रममा टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारीसमेत लिएको थियो । तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै आगामी दिनमा पनि आवश्यकता हेरेर सहयोगलाई निरन्तरता दिने लम्सालले प्रतिबद्धता जनाएका छन् ।
उनले विपद् प्रभावित नागरिकलाई सरकारले आफ्नो ठाउँबाट सहयोग गरिरहेको भए पनि जिम्मेवार नागरिकका रूपमा निजी क्षेत्र, व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणले समेत सक्दो सहयोग गर्नुपर्ने बताए ।
‘सरकारले आफ्नो ठाउँबाट काम गरिरहेको छ । तर जिम्मेवार नागरिकको हैसियतले विपद्को यो घडीमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने हो भने प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सहज हुन्छ,’ लम्सालले भने ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना र दैनिक जीवन सहज बनाउन सरकारी प्रयाससँगै निजी क्षेत्र तथा सामाजिक संस्थाहरूको सहकार्य आवश्यक देखिएको छ। मानवीय भावनासहित सञ्चालन हुने यस्ता सहयोग अभियानले विपद्को समयमा सामाजिक एकता, सहकार्य र उत्तरदायित्वको भावना थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।










