
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ । सोमबार सिंहदरबारमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको बैठकमा सहभागी भएर फर्किने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले तामाङको सीआरएस अभिलेख जाँच गर्दा विभिन्न कार्यालयमा दर्ता भएका बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा फेला परेको जनाएको छ । ती सबै मुद्दामा अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।
प्रहरीका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतबाट तामाङलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको थियो ।
काठमाडौं महानगरपालिका-२९ हनुमानथानबाट पक्राउ परेका तामाङ नुवाकोटको किस्पाङ गाउँपालिका-३ का स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा बस्दै आएका थिए । तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
