
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंँबाट हेटौँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ६ पुरुष र २ महिला गरी आठ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं र एक जनालाई हेटौँडा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी तथा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ ।
मृतक तथा घाइतेको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।