असोजमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो, एभरेष्टको सबैभन्दा कम ब्याजदर

दियोपोस्ट संवाददाता

काठमाडौँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार भदौको तुलनामा असोजमा व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा थप गिरावट आएको छ।

अधिकांश बैंकहरूले असोजका लागि भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

एभरेष्ट बैंकले सबैभन्दा धेरै घटायो

असोजका लागि ब्याजदर घटाउने वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकले सबैभन्दा धेरै घटाएको छ । बैंकले भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको ४ दशमलव ०५ प्रतिशत ब्याजदरलाई ० दशमलव ५५ प्रतिशत विन्दुले घटाएर ३ दशमलव ५० प्रतिशत कायम गरेको छ।

यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदर पनि ० दशमलव २५ प्रतिशत विन्दुले घटाएर ३ दशमलव २५ प्रतिशत कायम गरिएको छ । नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भदौको ४ दशमलव ५५ प्रतिशतबाट ० दशमलव ३० प्रतिशत विन्दुले घटाएर ४ दशमलव २५ प्रतिशत कायम गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ३दशमलव ८० प्रतिशतबाट ० दशमलव ०५ प्रतिशत विन्दुले घटाएर ३दशमलव ७५ प्रतिशत कायम गरेको छ।

त्यस्तै, कुमारी बैंकले भदौको ३ दशमलव ७६ प्रतिशत ब्याजदरलाई ० दशमलव ०३ प्रतिशत विन्दुले घटाएर ३ दशमलव ७३ प्रतिशत कायम गरेको छ।

सिटिजन्स बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ० दशमलव २५ प्रतिशत विन्दुले घटाएको छ।

यता सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव ५० प्रतिशत यथावत् राखेको छ भने संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदरमा ० दशमलव २१ प्रतिशत विन्दुले वृद्धि गरेको छ।

यी बैंकले राखे भदौकै ब्याजदर

असोज महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक र सिद्धार्थ बैंकलगायत बैंकले भदौकै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्।

यीमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकको ब्याजदर क्रमशः ४ दशमलव ५० प्रतिशत, प्रभु बैंकको ४ दशमलव ५५ प्रतिशत, कृषि विकास बैंक र नेपाल बैंकको ४दशमलव १५ प्रतिशत, नेपाल एसबीआई बैंकको ४दशमलव १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकको ४ दशमलव ० प्रतिशत तथा सिद्धार्थ बैंकको ३ दशमलव ७६ प्रतिशत रहेको छ।