असोज १ देखि सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, ईभीलाई प्राथमिकता

दियोपोस्ट संवाददाता

काठमाडौँ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारी साधनको नयाँ दर्ता सर्तसहित खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी विभागले नयाँ सवारी दर्ता खुला गरेको हो ।

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यका बाहिर दर्ता हुने सार्वजनिक यात्रुवाहक सवारी साधनमा विद्युतीय सवारी (ईभी) लाई प्राथमिकता दिइएको छ ।

विभागले सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै उपत्यका र उपत्यकाबाहिरका लागि छुट्टाछुट्टै मापदण्ड बनाएर दर्ता खुला गरिएको जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र भने बढ्दो सवारी चाप र रुट व्यवस्थापनलाई ध्यानमा राख्दै सीमित सवारीको मात्र दर्ता खुला गरिएको छ । विभागका अनुसार उपत्यकामा हाल ‘स्कुल बस’ र ‘सट्टाभर्ना’अन्तर्गत मात्र सार्वजनिक सवारी साधन दर्ता गर्न पाइनेछ । सट्टाभर्ना भन्नाले पुराना सार्वजनिक सवारी विस्थापित गरी त्यसको सट्टामा नयाँ सवारी दर्ता गर्ने प्रक्रिया हो ।

यसअघि विभागले २०८३ जेठ ७ गते सूचना जारी गर्दै नेपालमा भित्रिने सम्पूर्ण सार्वजनिक सवारी साधनको दर्ता अर्को सूचना नभएसम्मका लागि रोक्का गरेको थियो । त्यसपछि साउन १८ गते सार्वजनिक मालवाहक अर्थात् ढुवानीका सवारी साधनको दर्ता खुला गरिएको थियो ।

यात्रुवाहक सवारीको दर्ता भने अहिले आएर विभिन्न सर्तसहित खुला गरिएको हो । निर्णय कार्यान्वयनका लागि विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका यातायात व्यवस्थापन हेर्ने सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई आवश्यक निर्देशन दिएको छ ।

 

सम्बन्धित खबर