
रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुईवटा शव बाहिर निकालिएको छ । सुरुङभित्र फेला परेको थप एक शव बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
भाद्र १० गते आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको थियो ।

टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पुर्याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोड्दै करिब १ हजार ५० मिटर बाटो निर्माण गरेर सुरुङसम्म पुग्ने पहुँच बनाएको थियो । त्यसपछि सुरुङभित्रको डेब्रिज हटाउने काम निरन्तर भइरहेको थियो ।

डेब्रिज हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको पाइएको थियो । पानी निस्किएको प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा सुरुङको माथिल्लो भागसम्म पानी भरिएका कारण एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था बनेको थियो ।
आज भाद्र ३१ गते गोताखोरसहितको टोलीले सोही प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीनवटा शव फेला पारेको हो । तीमध्ये दुईवटा शव बाहिर निकालिसकिएको छ भने एउटा शव बाहिर निकाल्ने काम भइरहेको छ ।
घटनास्थलमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ ।