
काठमाडौँ । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि तथा प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ । इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार (अक्टोबर ३) बिहान ६ बजे सुरु हुन लागेको हो ।
पदयात्रा काठमाडौँको बसन्तपुरस्थित दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुने बताइएको छ । आयोजकका अनुसार कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहनेछ ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारको महत्वबारे समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । क्यान्सरको उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देशसमेत कार्यक्रममार्फत प्रवाह गरिने बताइएको छ ।
इन्फिनिट केयर्सकी इकाई प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई केवल पदयात्रामा सीमित नराखी सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताइन् ।
“पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो । स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो,” उनले भनिन् ।
पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् लगायतका संस्थाको साझेदारीमा आयोजना हुने बताइएको छ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।
पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना भएको थियो । त्यसमा ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसँग सम्बन्धित सचेतनामूलक सामग्रीसहित नक्सालको नारायणचौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए ।
दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिने आयोजकको भनाइ छ ।
इन्फिनिट केयर्स, इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको सामुदायिक पहल हो । इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालि बहुराष्ट्रिय आईटी सेवा तथा डिजिटल इन्जिनियरिङ कम्पनी इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो ।
त्यस्तै, क्यान्सर केयर नेपाल क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, प्रारम्भिक पहिचान तथा प्रभावित बिरामीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले काम गर्दै आएको गैरनाफामूलक संस्था हो ।