
काठमाडौँ । अध्यागमन विभागले मोबाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसा लगाएतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसा लगाएतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो ।
विदेशी पर्यटकले होटलमा चेक-इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट/भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
नेपाल आएका विदेशी नागरिकहरूले विभागको मोबाइल एपमा लगइन गरेर राहदानी विवरण प्रविष्ट गरेपछि उनीहरूको विवरण अध्यागमनको केन्द्रीय सर्भरमा जोडिने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्कहरू राखेर यो एप डाउनलोड तथा प्रयोगबारे विदेशी नागरिकहरूलाई सहजीकरण गर्ने तयारी भइरहेको जानकारी दिए ।