
काठमाडौँ । नेपाली समाज भारत, केन्द्रीय समितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम नेपाली समाज भारतका केन्द्रीय सह-संयोजक आरबी खड्काको नेतृत्वमा नेपाली राजदूतावास, नयाँ दिल्लीका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापामार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हस्तान्तरण गरिएको हो ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवा, नुवाकोटलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।
यसअघि राहत अभियानको प्रारम्भिक चरणमा तमिलनाडु-पुडुचेरी संयुक्त राज्य समितिबाट ५० हजार रुपैयाँ तथा पञ्जाब-जम्मु कश्मीर, पञ्जाब-हरियाणा, महाराष्ट्र, दिल्ली एनसीआर, कर्नाटक, मध्यप्रदेश, उत्तर प्रदेश, हिमाचल प्रदेश, गोवा, गुजरात, आन्ध्र प्रदेश-तेलंगाना, तमिलनाडु-केरला र चण्डीगढ संयुक्त राज्य समितिलगायतको पहलमा २ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइएको समाजले जनाएको छ ।
विपत्तिको समयमा नेपाली समुदायबीच देखिएको एकता, सहयोग र मानवीय भावनाले आफूहरूलाई थप उत्साहित बनाएको समाजले जनाएको छ । साथै देश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न समाजले अपिल गरेको छ ।
राहत अभियानमा आर्थिक तथा नैतिक सहयोग गर्ने भारतमा रहेका नेपाली समाजका राज्य तथा नगर समिति, नेता-कार्यकर्ता, सदस्य, नेपाली तथा भारतीय समुदाय र शुभेच्छुकप्रति समाजले धन्यवाद व्यक्त गरेको छ ।
समाजले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा थप प्रभावकारी भूमिका खेल्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
नेपाली समाज भारतका केन्द्रीय सह–संयोजक आरबी खड्काको नेतृत्वमा सह-संयोजक वेदप्रकाश भण्डारी, वरिष्ठ सदस्य मानु श्रेष्ठ, नारायण विक, दीपक जिसी, माइकल क्षेत्री, नारायण बिष्ट, लक्ष्मण सोनी तथा समाजसेवी लक्ष्मी रावतलगायतको टोलीले राजदूत थापामार्फत रकम हस्तान्तरण गरेको समाजले जनाएको छ ।