
काठमाडौँ । राष्ट्रिय महिला आयोगको आयोजना तथा पुनम फाउन्डेसन काठमाडौँको सहकार्यमा सञ्चालित ‘महिला हिंसाविरुद्ध आत्मरक्षात्मक खेलकुद प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
जनकल्याण माध्यमिक विद्यालयमा आयोजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा प्रशिक्षणमा सहभागी १५० जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय महिला आयोगका प्रवक्ता तथा सदस्य कृष्णकुमारी खतिवडा पौडेलले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा। लिली थापा प्रमुख अतिथिका रूपमा तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य मोनालिसा खम्बु विशेष अतिथिका रूपमा सहभागी थिए ।
त्यस्तै पुनम फाउन्डेसनकी अध्यक्ष पुनम सुब्बा, राष्ट्रिय महिला आयोगका सचिव, जेनजी प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारीलगायतको उपस्थिति थियो । महिला अधिकार तथा सशक्तीकरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनम फाउन्डेसनकी अध्यक्ष पुनम सुब्बालाई समेत आयोगले सम्मान गरेको थियो ।
समारोहमा वक्ताहरूले महिला हिंसा कुनै व्यक्तिमाथिको हिंसा मात्र नभई मानव अधिकार, समानता र सम्मानमाथिको आक्रमण भएको बताएका थिए । हिंसामुक्त समाज निर्माणका लागि कानुन, नीति र राज्यका संयन्त्रसँगै महिलामा आत्मविश्वास, आत्मसम्मान र आत्मसुरक्षाको क्षमता विकास गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
आत्मरक्षात्मक खेलकुदले हिंसाको प्रतिकार गर्न सिकाउनुका साथै महिलालाई आफ्नो शरीर र अधिकारप्रति सचेत बन्न, जोखिम पहिचान गर्न तथा संकटका बेला संयमित र साहसी ढंगले निर्णय लिन सहयोग गर्ने वक्ताहरूले बताएका थिए ।
विद्यालय तहदेखि नै आत्मरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा छात्राहरू शारीरिक रूपमा मात्र नभई मानसिक र सामाजिक रूपमा समेत सबल र आत्मविश्वासी बन्ने उनीहरूको धारणा थियो ।
प्रमाणपत्र प्राप्त गरेका प्रशिक्षार्थीलाई तालिम पूरा गरेको प्रमाणका रूपमा मात्र नभई आत्मविश्वास, साहस र आफ्नो सुरक्षाप्रतिको चेतनाको प्रतीकका रूपमा प्रमाणपत्र लिन आग्रह गरिएको थियो। साथै तालिमबाट सिकेका सीप आफ्ना साथीबहिनीलाई समेत सिकाउन सहभागीलाई आग्रह गरिएको थियो ।
वक्ताहरूले यस्ता कार्यक्रमलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। हरेक विद्यालयमा छात्राका लागि आत्मरक्षा प्रशिक्षण, लैङ्गिक हिंसाविरुद्ध सचेतना, कानुनी अधिकारसम्बन्धी जानकारी तथा आवश्यक परामर्श उपलब्ध गराउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
‘महिला डराएर होइन, अधिकार र आत्मविश्वासका साथ बाँच्नुपर्छ, हिंसा सहेर होइन त्यसविरुद्ध आवाज उठाएर अघि बढ्नुपर्छ र हरेक छोरी सुरक्षित, सम्मानित तथा आत्मनिर्भर बन्न पाउनुपर्छ’ भन्ने सन्देश कार्यक्रमका वक्ताहरूले दिएका थिए ।
कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का उपसचिव प्रजापति दाहालले सञ्चालन गरेका थिए।