
काठमाडौँ । संगठित अपराध मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त काठमाडौँबाट पक्राउ परेका छन् ।ठगी, लिखत किर्ते, नागरिकता सम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा १५ वर्ष कैद र १ लाख २० हजार रुपैयाँ जरिवाना तोकिएका फरार ४६ वर्षीय हरि भन्ने पुण्डे प्रसाद काफ्ले पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका-४ धुम्बाराही बस्दै आएका काफ्ले २०८२ भदौ २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौँमा कैद सजाय भुक्तान गरिरहेको अवस्थाबाट भागेर फरार भएका थिए।
उनी काठमाडौँको विभिन्न क्षेत्रमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले खोजी गरी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका काफ्लेमाथि ठगी, लिखत किर्ते, नागरिकता सम्बन्धी कसुर तथा संगठित अपराधका मुद्दामा अदालतबाट १५ वर्ष कैद र १ लाख २० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।