
काठमाडौँ । उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गर्न खोजेको आरोपमा नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईं पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौलागाईंलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरेको हो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन चौलागाईं मन्थली पुगेका थिए । सोही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
सीआईबीका अनुसार उच्च पदस्थ व्यक्तिहरूको नाम लिएर रकम असुलीका लागि कुराकानी तथा डिल गरेको भनिएको अडियो फेला परेपछि चौलागाईंमाथि अनुसन्धान अघि बढाइएको हो ।
सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले प्रारम्भिक अनुसन्धानका क्रममा केही प्रमाण फेला परेको बताए । उक्त प्रमाणको सत्यतथ्य पत्ता लगाउन चौलागाईंलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
पक्राउ परेका चौलागाईंलाई काठमाडौं ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । प्रहरीले बरामद अडियोमा भएको कुराकानीको वास्तविकता, त्यसमा उल्लेख गरिएका उच्च पदस्थ व्यक्तिहरूको नाम तथा रकम असुलीका लागि भनिएका कारोबारमा चौलागाईंको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
अडियो तथा अन्य प्रमाणको प्राविधिक परीक्षण र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता खुल्ने प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा थप व्यक्ति तथा प्रमाणसमेत फेला पर्न सक्ने सीआईबीले जनाएको छ ।
चौलागाईंविरुद्ध यसअघि पनि बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको थियो । २०८० मंसिरमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ का सानुभाइ थापाले उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएका थिए । थापाका अनुसार चौलागाईंले दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भएपछि प्रहरीमा जाहेरी परेको थियो ।
त्यसैगरी जग्गा कारोबारका लागि चौलागाईंले आफूसँग ३ करोड ९२ लाख रुपैयाँ लिएको पनि थापाले जाहेरीमा उल्लेख गरेका थिए । ८० लाख रुपैयाँको चेकबाहेक चौलागाईंले दिएको ३ करोड १२ लाख रुपैयाँको अर्को चेकसमेत बाउन्स भएको थापाको दाबी थियो ।
रामेछापको सुनापति गाउँपालिका-१ निवासी चौलागाईं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।