‘नेपाल सुरक्षित छ’ सन्देश दिन रुप्से होलिडेजको पहलमा श्रीलंकाका १५० पर्यटन व्यवसायी नेपालमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । श्रीलंकाका करिब १५० जना अग्रणी ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन् । रुप्से होलिडेजको विशेष पहल, समन्वय तथा व्यवस्थापनमा उनीहरु नेपाल आएका हुन् ।

नेपाल आएका उनीहरूले नेपालको पर्यटन प्रवर्द्धनसँगै ‘नेपाल सुरक्षित छ, नेपालले बोलाउँदैछ’ भन्ने सन्देश श्रीलंकाको पर्यटन बजारमा लैजाने भएका छन् ।

श्रीलंकाका पर्यटन क्षेत्रका दुई महत्वपूर्ण संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (टासल) र एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (एएसएल) को वार्षिक साधारणसभा काठमाडौँको द प्रिन्सेस होटलमा सेप्टेम्बर १७ देखि २० सम्म आयोजना भइरहेको छ । कार्यक्रममा टासलको ५१औँ तथा एएसएलको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

यी संस्थाले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गर्दै आएका छन् । सन् २०२५ मा टासलको ५०औँ र एएसएलको ३७औँ वार्षिक साधारणसभा सिंगापुर-मलेसिया क्षेत्रमा रहेको गेन्टिङ ड्रीम क्रुजमा आयोजना गरिएको थियो । यसपटक भने काठमाडौँलाई गन्तव्यका रूपमा छनोट गरिएको हो ।

यसअघि बेइजिङ, टोकियो, इस्तानबुल, बैंकक, जकार्ता, बाकु तथा मेलबर्नलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गरिसकेका यी संस्थाका करिब १५० जना पर्यटन व्यवसायीलाई नेपाल ल्याउन रुप्से होलिडेजले नेतृत्वदायी भूमिका खेलेको हो ।

रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का सचिव रमेश पराजुलीले नेपालको पर्यटन क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय बजारमा विश्वास निर्माणका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

उनले १५० जना अग्रणी श्रीलंकाली ट्राभल एजेन्टलाई नेपाल ल्याउनु एउटा एजीएम आयोजना गर्नुमा मात्र सीमित नभएको बताए । उनका अनुसार यी व्यवसायीहरूले आफ्नो बजारमा ठूलो संख्यामा यात्रुलाई गन्तव्य सिफारिस गर्ने भएकाले उनीहरूले नेपाल प्रत्यक्ष रूपमा अनुभव गरेर फर्कनु प्रभावकारी पर्यटन प्रवर्द्धन बन्न सक्छ ।

कार्यक्रमलाई एजीएममा मात्र सीमित नराखी नेपालको पर्यटनमा विश्वास अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइएको रुप्से होलिडेजले जनाएको छ । कार्यक्रममा नेपाल सुरक्षित रहेको, पर्यटकलाई स्वागत गर्न तयार रहेको र निर्धक्क भएर नेपाल भ्रमण गर्न सकिने सन्देशलाई प्राथमिकता दिइएको छ ।

एजीएमपछि आयोजित विशेष गाला डिनरमा नेपाल र श्रीलंकाका पर्यटन तथा उड्डयन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत, श्रीलंकन एयरलाइन्सका व्यावसायिक निर्देशक, नाट्टा अध्यक्ष भरतजंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा श्रीलंकन एयरलाइन्सका जीएसए सञ्चालक जय देवानलगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले नेपाल-श्रीलंका पर्यटन व्यवसायबीचको सम्बन्ध विस्तार, बीटुबी नेटवर्किङ तथा नेपालको पर्यटन उत्पादनको प्रवर्द्धनमा जोड दिएका छन् ।

टासल श्रीलंकाका ट्राभल एजेन्टहरूको प्रमुख व्यावसायिक संस्था हो भने एएसएलले आयाटा मान्यता प्राप्त एजेन्टहरूको प्रतिनिधित्व गर्दै आएको छ । यी संस्थासँग आबद्ध करिब १५० पर्यटन व्यवसायीको नेपाल भ्रमणले श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा नेपालका पर्यटन प्याकेज बिक्री विस्तार गर्न आधार तयार हुने अपेक्षा गरिएको छ ।

रुप्से होलिडेजले यस कार्यक्रममार्फत श्रीलंकाको पर्यटन बजारमा नेपालको प्रत्यक्ष अनुभव र सकारात्मक सन्देश पुर्‍याउँदै आगामी दिनमा नेपाल-श्रीलंका पर्यटन व्यवसायबीच थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खबर

सिफारिस