
पोखरा । पोखरा विश्वविद्यालयले आफ्ना चारवटा संकायमा रिक्त रहेका डीन पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा डीन पदका लागि आवेदन माग गरिएको हो।
विश्वविद्यालय ऐन २०५३ को दफा २७ बमोजिम कार्यकारी परिषद्बाट डीनको नियुक्ति हुने व्यवस्था छ । सोही अनुसार सम्बन्धित संकाय वा स्कूलमा कार्यरत योग्य शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (मिति २०८३ असोज ७ गतेसम्म) कार्यालय समयमा रजिष्ट्रारको कार्यालयमा आवेदन पेस गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ।
आवेदनका साथ व्यक्तिगत विवरणका अलावा बढीमा २५०० शब्दसम्मको रणनीतिक योजना कार्यान्वयन सम्बन्धी कार्ययोजना समेत पेस गर्नुपर्नेछ । कार्ययोजनामा संकायको विद्यमान अवस्थाको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा एवं स्रोत, बजेट तथा अनुगमन जस्ता विषयहरू समावेश हुनुपर्नेछ।
कार्ययोजना नेपाली भाषामा भए युनिकोड (१२ फन्ट साइज) र अंग्रेजीमा भए टाइम न्यु रोमन (१२ फन्ट साइज) मा तयार पार्नुपर्ने विश्वविद्यालयले जनाएको छ।
