माथिल्लो त्रिशूली-१ को सुरुङबाट डण्डीको जालीमा अल्झिएका ६ शव निकालिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ६ वटा शव निकालिएको छ । नेपाली सेनाका अनुसार सुरुङभित्र खोजी तथा उद्धारका क्रममा ढलानका लागि बुनिएको फलामे डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका हुन् ।

शव निकाल्न ग्राइन्डर, ग्यास कटर तथा रोटरी उद्धार उपकरण प्रयोग गरिएको थियो । सुरुङको भित्री भागमा थप शवजस्ता आकृति देखिएकाले खोजी कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ ।

खोजी तथा उद्धार कार्यमा नेपाली सेनासँगै आयोजनाका प्रतिनिधि तथा अन्य सुरक्षाकर्मी परिचालित छन् । बाढीपछि सुरुङभित्र थुप्रिएको लेदो, माटो र भग्नावशेषका कारण उद्धार कार्य कठिन बनेको छ । यसअघि पनि आयोजनाको सुरुङ तथा हेडबक्स क्षेत्रमा खोजी गर्दा शव फेला परेका थिए ।

माथिल्लो त्रिशूली-१ आयोजना भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित जलविद्युत् आयोजनामध्ये एक हो । आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेकोमा पछिल्लो विवरणअनुसार ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । आज सार्वजनिक विवरणअनुसार आयोजनासँग सम्बन्धित ४९२ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।

यसैबीच, माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा पनि खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार उक्त आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा हालसम्म आठवटा शव निकालिएको छ । यस आयोजनाको सुरुङबाट यसअघि सञ्जय साह र कबिर महर्जनलाई जीवितै उद्धार गरिएको थियो ।

भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, आयोजनाका प्राविधिक तथा विदेशी विज्ञसमेत परिचालित छन् । सुरुङभित्रको लेदो र भग्नावशेष हटाउँदै सम्भावित जीवित तथा मृत व्यक्तिको खोजी भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस