
काठमाडौँ । काठमाडौँको भेडासिंहबाट प्रहरीले १ किलो ४ सय ग्राम अवैध सुन तथा सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका माणिक दास रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भेडासिंह क्षेत्रबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार दासको साथबाट १ किलो ४ सय ग्राम सुन तथा विभिन्न सुनका गहनासहित ७ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको छ । प्रहरीका अनुसार बरामद सुनको स्रोत खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा उक्त सुन अवैध कारोबारका लागि राखिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
दासले काठमाडौँको भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको खुलेको छ । प्रहरीले उनको टञ्च हाउस तथा सुन कारोबारसँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले बरामद सुन र नगदको स्रोत तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि मात्रै सुन कहाँबाट आएको हो र यसको कारोबारमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने खुल्ने प्रहरीको भनाइ छ ।