
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
प्रहरी सहायक निरीक्षक पदमा २ सय ११ जना माग गरिएको छ । यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३ जना, हजाम १५ जना र कुचीकार २५ जना गरी १ सय २३ जना माग गरिएको छ ।
प्रहरीले दुवै पदमा गरी कुल ३ सय ३४ जना नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Caree भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिने छ ।
यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौँ, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने जनाएको छ ।
दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।