
काठमाडौँ । काठमाडौँ उपत्यकाका ९ वटा स्थानीय तहमा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । यसका लागि उपत्यकाका स्थानीय तह र साझा यातायातबीच सहकार्यसम्बन्धी समझदारी भएको छ ।
समझदारी गर्ने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका रहेका छन् ।
यसअघि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरी वैशाख १ गतेदेखि परीक्षणका रूपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको थियो । समझदारीमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
समझदारीपछि ६ वटा रुटमा ३० वटा रात्रिकालीन बस सञ्चालनमा आएका छन् । जसअनुसार जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, गोदावरी–लगनखेल–बूढानीलकण्ठ ६ वटा, रिङरोडमा ८ वटा, कीर्तिपुर-जमल ४ वटा, टाखेल-ठमेल २ वटा र नागढुङ्गा-एयरपोर्ट ४ वटा बस सञ्चालन गरिनेछ ।
यसअघि लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बस सञ्चालन हुँदै आएका थिए ।
रात्रिकालीन बस सञ्चालनमा यात्रुबाट प्राप्त टिकट आम्दानीले खर्च नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित नगरपालिकाहरूले समान रूपमा व्यहोर्ने सहमति भएको छ । बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्नेछन् । सेवा सञ्चालनका लागि रकम अपुग भए साझा यातायातले त्रैमासिक रूपमा रकम माग गर्नेछ ।
रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।
चक्रपथमा यातायात सेवा विस्तार भएपछि एक ठाउँमा बस परिवर्तन गरेर विभिन्न रुटमा यात्रा गर्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ ।
टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझा यातायातले १ असोजदेखि डिजिटल टिकटिङ प्रणाली विकास गरेको छ । उक्त प्रणालीमार्फत क्यूआर कोड वा नगदबाट टिकट लिन सकिने व्यवस्था गरिएको छ ।
साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौँ महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । हाल साझा यातायातसँग १११ वटा बस रहेका छन् ।