
काठमाडौँ । गीतकारका सिर्जना अनुमति बिना बिक्री-वितरण गर्ने, डिजिटल मेटाडाटा परिवर्तन गर्ने र त्यसबाट प्राप्त लाखौँ रुपैयाँको आम्दानी तथा रोयल्टी लुकाएको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हिराबहादुर केसीविरुद्ध प्रतिलिपि अधिकार उल्लंघन र ठगीको मुद्दा दायर भएको छ ।
गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँको जाहेरीपछि जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।
अभियोगपत्रअनुसार सगरमाथा डिजिटलले सरोजका सिर्जनाबाट रु. २० लाख ३ हजार ७१७ र मजगैयाँका सिर्जनाबाट रु. ३९ लाख २४ हजार ४९७ आम्दानी गरेको म्युजिक नेपालबाट प्राप्त आधिकारिक विवरणमा देखिएको छ । तर उक्त आम्दानी तथा रोयल्टीको वास्तविक विवरण सर्जकलाई नदिई कम्पनीले आफैले लाभ लिएको अभियोजन पक्षको दाबी छ ।
मजगैयाँका हकमा अनुसन्धानले थप गम्भीर तथ्य देखाएको अभियोगपत्रमा उल्लेख छ । उनका ४८ वटा गीत, गजल तथा अन्य सिर्जनात्मक सामग्री सगरमाथा डिजिटलले अनधिकृत रूपमा नियन्त्रणमा लिएको र तीमध्ये ४० वटा सिर्जना स्टुडियोको डिजिटल प्रणालीबाटै लिइएको अभियोजन पक्षको दाबी छ । कतिपय सामग्रीको मेटाडाटा हटाएर वा परिवर्तन गरी आफ्नै नाममा दर्ता तथा व्यापार गरिएकोसमेत अभियोगपत्रमा उल्लेख छ ।
त्यति मात्रै होइन, मजगैयाँका सिर्जनालाई विभिन्न टुक्रामा विभाजन गरी फरक-फरक कोड बनाएर बिक्री गरिएको तथा कतिपय सामग्रीमा वास्तविक सर्जकको नामसमेत नराखिएको अभियोजन पक्षको दाबी छ । ‘तिम्रै यादमा’, ‘तिम्रो माया मेरो माया’, ‘मलाई बीच बाटोमा’ लगायतका गीतको प्रयोग र दर्तालाई लिएर समेत विवाद देखिएको छ ।
‘तिम्रै यादमा’ गीतको स्वामित्वलाई लिएर भएको सम्झौता पनि अनुसन्धानको विषय बनेको छ । संगीतकार सन्तोष श्रेष्ठको बयानअनुसार २०६८ मंसिर ८ गते केसी, मजगैयाँ र श्रेष्ठबीच भविष्यमा गीत निर्माण गर्ने विषयमा सम्झौता भएको थियो । तर सम्झौताअनुसार रकम लेनदेन नभएको र विवादित गीत त्यसअघि नै सर्जककै लगानीमा निर्माण तथा प्रकाशित भइसकेको उनको भनाइ छ ।
उता केसीले भने आरोप अस्वीकार गरेका छन् । आफू २०५२ सालदेखि संगीत क्षेत्रमा सक्रिय रहेको र २०६३-६४ सालदेखि सगरमाथा डिजिटल सञ्चालन गर्दै आएको बयान दिँदै उनले सरोजका आठ तथा मजगैयाँका चार गीत सम्झौता गरेर खरिद गरेको दाबी गरेका छन् । आफूले गीत खरिद गरेपछि सीडी, अडियो तथा डिजिटल माध्यममा प्रसारण गरेको र त्यसका लागि विज्ञापनमा समेत खर्च गरेको उनको भनाइ छ ।
तर अनुसन्धानमा प्राप्त वित्तीय विवरण र अन्य प्रमाणले केसीको दाबी पुष्टि नभएको अभियोजन पक्षको निष्कर्ष छ । विशेषगरी म्युजिक नेपाल र संगीत रोयल्टी संकलन समाज नेपालबाट प्राप्त विवरणले सगरमाथा डिजिटलले सिर्जनाबाट आम्दानी तथा रोयल्टी बुझेको देखिए पनि सर्जकलाई त्यसको वास्तविक हिसाब नदिएको अभियोगपत्रमा उल्लेख छ ।
अभियोजन पक्षले सर्जकको अनुमति बिना व्यावसायिक रूपमा सिर्जना बिक्री-वितरण गरेको भन्दै केसीविरुद्ध प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ र आम्दानी लुकाएर आर्थिक लाभ लिएको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत कारबाही माग गरेको छ ।
सरकारले मजगैयाँका सिर्जनाको हकमा रु. ३९ लाख २४ हजार ४९७ तथा सरोजका सिर्जनाको हकमा रु.२० लाख ३ हजार ७१७ बिगो कायम गरी कानुनबमोजिमको ब्याज र क्षतिपूर्तिसमेत भराउन माग गरेको छ । साथै मजगैयाँका ४८ वटै सिर्जनाको मूल मेटाडाटा उपलब्ध गराउन र डिजिटल प्लेटफर्ममा वास्तविक सर्जकको इतिहास तथा स्वामित्व कायम गर्न माग गरिएको छ ।
अभियोगपत्रमा हिराबहादुर अदालतमा अनुपस्थित रहेको उल्लेख गर्दै समाह्वान जारी गरी कारबाही अघि बढाउन माग गरिएको छ । साथै अनुसन्धानबाट अन्य व्यक्ति वा संस्थाको संलग्नता खुलेमा थप अनुसन्धान गरी थप बिगो कायम गर्न सकिने उल्लेख छ । तर अभियोगपत्रमा लगाइएका आरोपको अन्तिम कानुनी निरुपण भने अदालतको फैसलाबाट हुनेछ ।


