खाने तेलको नयाँ मापदण्ड लागू : ‘सुपर रिफाइन्ड’ लगायत भ्रामक शब्द प्रयोगमा प्रतिबन्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले यी तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई व्यवस्थित गर्न नयाँ मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो।

नयाँ मापदण्डले खाने तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी स्पष्ट वर्गीकरण गरेको छ। सिधै खान नमिल्ने तेल उपभोक्ताका लागि खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।

तोरीको तेल

तोरीको तेललाई उत्पादन प्रक्रियाका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट-एक्स्ट्र्याक्टेड’ गरी दुई भागमा वर्गीकरण गरिएको छ। एक्स्प्रेस प्रक्रियाबाट निकालिएका रिफाइन्ड, भर्जिन र एक्स्पेलर तेल तथा सल्भेन्ट प्रक्रियाबाट निकालिएको रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ। सल्भेन्ट प्रक्रियाबाट उत्पादित ग्रेड-१ तोरीको तेल भने सिधै खान नमिल्ने भएकाले थप प्रशोधन गरेर मात्र प्रयोग गर्नुपर्नेछ। यस्तो तेलको कन्टेनरमा कम्तीमा ५० मिलिमिटर ठूला अक्षरमा अंग्रेजीमा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ लेख्नुपर्ने व्यवस्था गरिएको छ। तोरीको तेलमा आर्जेमोन मेक्सिकाना वा अन्य अखाद्य तेल मिसाउन नपाइने तथा पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट हुनुपर्ने व्यवस्था गरिएको छ।

भटमासको तेल

भटमासको तेललाई सल्भेन्ट एक्स्ट्र्याक्सन प्रक्रियाबाट उत्पादन हुने रिफाइन्ड, डिगम्ड र ग्रेड–१ गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ। त्यसमध्ये रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ। डिगम्ड र ग्रेड–१ तेल वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनका लागि कच्चापदार्थका रूपमा मात्र प्रयोग गर्नुपर्ने र खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। यस्ता तेलको कन्टेनरमा पनि सिधै खान नमिल्ने स्पष्ट चेतावनी लेख्नुपर्नेछ। भटमास तेलमा अफ्लाटक्सिनको मात्रा ३० माइक्रोग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने तथा रिफाइन्ड तेलमा हेक्जेन अधिकतम ५ पीपीएम र फस्फोरस अधिकतम १२ पीपीएम हुनुपर्ने मापदण्ड तोकिएको छ।

सूर्यमुखी तेल

सूर्यमुखी तेललाई पनि ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट एक्स्ट्र्याक्टेड’ गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। दुवै प्रक्रियाबाट उत्पादित रिफाइन्ड तेल तथा एक्स्प्रेस प्रक्रियाको ग्रेड–१ तेल सिधै खानयोग्य हुनेछन्। सल्भेन्ट एक्स्ट्र्याक्टेड प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेल भने सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। यस्तो तेलको कन्टेनरमा नमेटिने मसीले ठूला अक्षरमा चेतावनी लेख्नुपर्नेछ। सूर्यमुखी तेलमा कृत्रिम रङ तथा स्वाद प्रयोग गर्न नपाइने, पेरोक्साइड भ्यालु अधिकतम १० हुनुपर्ने र अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ।

विज्ञापन र प्याकेजिङमा कडाइ

नयाँ मापदण्डले तेलको विज्ञापन र प्याकेजिङमा प्रयोग हुने शब्दावलीमा समेत कडाइ गरेको छ। उपभोक्तालाई भ्रममा पार्ने वा अतिरञ्जित दाबी गर्ने ‘सुपर-रिफाइन्ड’, ‘एक्स्ट्रा-रिफाइन्ड’, ‘माइक्रो-रिफाइन्ड’, ‘डबल-रिफाइन्ड’, ‘अल्ट्रा-रिफाइन्ड’, ‘एन्टी-कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’, ‘मुटुलाई शान्त पार्ने’, ‘कोलेस्टेरोल फ्रेन्डली’ र ‘स्याचुरेटेड फ्याट फ्री’ जस्ता शब्द तेलको प्याकेट वा विज्ञापनमा प्रयोग गर्न पाइने छैन।

तेल प्याकेजिङका लागि नेपाल गुणस्तर ९एनएस० प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ। एकपटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका कन्टेनर पुनः प्रयोग गरी खाने तेल प्याक गर्नसमेत प्रतिबन्ध लगाइएको छ।

कन्टेनरमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन महिना वा वर्ष तथा खुद तौल नेपाली वा अंग्रेजी भाषामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। मापदण्ड पूरा गर्ने उत्पादकले मात्र नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गर्न पाउनेछन्।

सम्बन्धित खबर

सिफारिस