म्याच फिक्सिङको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका ६० वर्षीय कोषाध्यक्ष जोशी र ५५ वर्षीय लेखा अधिकृत पाण्डेलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पत्र तथा वसन्त रिजालको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले एन्फाको सातदोबाटोस्थित मुख्यालयमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुवै जनामाथि फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो गरी खेलको नतिजा प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको छ ।

पक्राउपछि प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिएका उनीहरूलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले चार दिनको म्याद थप गरेको छ । अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सीआईबीले उनीहरूमाथि खेलमा मिलेमतो, अनियमितता तथा सम्भावित आर्थिक कारोबारलगायतका विषयमा अनुसन्धान अघि बढाइरहेको छ । अनुसन्धानबाट म्याच फिक्सिङमा उनीहरूको भूमिका, अन्य व्यक्तिको संलग्नता तथा त्यससँग जोडिएको आर्थिक लेनदेनबारे थप तथ्य खुल्ने प्रहरीको अपेक्षा छ ।

एन्फाका पदाधिकारी नै म्याच फिक्सिङको आरोपमा पक्राउ परेपछि नेपाली फुटबलमा समेत यो विषयले गम्भीर प्रश्न उठाएको छ । यसअघि पनि नेपाली फुटबलमा म्याच फिक्सिङका आरोपमा खेलाडी तथा पदाधिकारीमाथि अनुसन्धान र कारबाही भएका घटना सार्वजनिक हुँदै आएका छन् ।

 

सम्बन्धित खबर

सिफारिस