
काठमाडौँ । यस वर्षको दशैँमा सर्वसाधारणले विगतका वर्षमा जस्तो नयाँ नोट तथा सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा नपाउने भएका छन् ।
हरेक वर्ष दशैँलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटक बजेट अभावका कारण उक्त कार्यक्रम सञ्चालन नगर्ने भएको हो । खसीबोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट विनियोजन नभएकाले बिक्री कार्यक्रम रोकिएको कम्पनीले जनाएको छ।
सरकारी सहुलियतमा खसीबोका तथा च्याङ्ग्रा बिक्री नहुँदा बजारमा मूल्य बढ्न सक्ने भन्दै सरोकारवालाले प्रभावकारी बजार अनुगमन गर्नुपर्ने बताएका छन् । उनीहरूले बजारमा कृत्रिम मूल्यवृद्धि हुन नदिन र उपभोक्ताको हित संरक्षण गर्न सरकारी निकायले नियमित अनुगमन गर्नुपर्ने बताएका छन् ।
यस्तै, नेपाल राष्ट्र बैंकले पनि यस वर्ष दशैँलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने भएको छ।
राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण धेरै नागरिक प्रभावित तथा विस्थापित भएका छन् भने भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।
विपद्पछिको पुनःस्थापना र आवश्यक वित्तीय स्रोत व्यवस्थापनलाई ध्यानमा राख्दै यस वर्ष दशैँका लागि नयाँ नोट बजारमा नपठाउने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
राष्ट्र बैंकले बाढीपहिरोका कारण बैंकिङ क्षेत्रका ऋणी, व्यवसायी तथा समग्र अर्थतन्त्रमा परेको प्रभावको समेत मूल्यांकन गरिरहेको जनाएको छ। यस विषयमा औपचारिक सूचना छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको जनाएको छ ।
यस वर्ष दशैँमा सरकारी सहुलियतमा खसी-च्याङ्ग्रा बिक्री नहुने र नयाँ नोट पनि वितरण नगरिने भएपछि विगतका वर्षभन्दा दशैँको तयारी केही फरक हुने भएको छ। बजारमा मूल्यवृद्धि हुन नदिन र उपभोक्ताको हित संरक्षण गर्न सरकारी अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।