बालाजु दुर्घटनामा फरार चालक नै त्रिपुरेश्वर बस आगलागीका मृतक

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार आफ्नै बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले अरू व्यक्तिको नाममा जारी भएको लाइसेन्स, नागरिकता र बैंक खातासमेत प्रयोग गर्दै आएको खुलेको छ।

ट्राफिक प्रहरीसँगको झडपपछि तामाङले आफ्नै बसमा आगो लगाएका थिए। घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तामाङ विगतमा भएका केही घटनामा संलग्न भएर फरार रहँदै आएका थिए। फरार अवस्थामा रहे पनि उनी सार्वजनिक बस चलाउँदै राजधानीका सडकमा यात्रु ओसारपसार गर्दै आएको खुलेको छ।

२०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको दुर्घटनामा पनि तामाङ नै चालक रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि उनी फरार भएका थिए। उक्त घटनामा उनले ‘सुनील तामाङ’को नाममा जारी भएको लाइसेन्स प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले ‘दावा तामाङ’को नाममा रहेको लाइसेन्स देखाएर उम्किएको प्रहरीको भनाइ छ।

तामाङले आफ्नो वास्तविक पहिचान लुकाउन लामो समयदेखि अर्कै व्यक्तिको नाममा जारी भएका कागजात प्रयोग गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले सुरुमा मृतकको साथमा भेटिएको लाइसेन्सका आधारमा उनको नाम दावा लामा भएको जनाएको थियो । तर थप अनुसन्धानपछि मृतक दावा लामा नभई मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको हो । उनका बाबुको नाम श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङ रहेको प्रहरीले जनाएको छ।

एउटै व्यक्तिले पटक-पटक फरक नाम र पहिचानका कागजात प्रयोग गरेर सवारी चलाउँदा पनि वास्तविक पहिचान पत्ता नलागेको देखिएको छ। सार्वजनिक सवारी चालकको पृष्ठभूमि परीक्षण तथा लाइसेन्सको वास्तविक धनी र चालक एउटै व्यक्ति हुन् कि होइनन् भन्ने विषयमा प्रभावकारी जाँच प्रणाली नहुँदा यस्ता घटना हुने गरेको देखिन्छ।

अरूको कागजात प्रयोग गरेर फरार व्यक्ति सार्वजनिक सवारी चलाउँदा यात्रुको सुरक्षामासमेत जोखिम हुने भएकाले चालकको पहिचान तथा पृष्ठभूमि परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ। प्रहरीले तामाङले अरूको कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित खबर

सिफारिस