असोज ८ र ९ गते विद्यालय बिदा, ११ सम्मका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले विद्यालय तथा विश्वविद्यालयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालय बिदा गर्न मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ।

त्यस्तै, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रुपमा प्रयोग गर्न तथा बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानबाट टाढा राख्न पनि सरकारले आग्रह गरेको छ ।