पाँचथरमा राति सवारी आवागमन बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाँचथरले आज (बिहीबार) बेलुकादेखि तीन दिनसम्म जिल्लाका विभिन्न सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार मेची राजमार्ग, तमोर कोरिडोर, फिदिम-फालोट, रवि-राँके-भेडेटार, मध्यपहाडी सडक तथा जिल्लाका अन्य भित्री सडक र बाटाघाटामा समेत उक्त समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ।

गत वर्षको अविरल वर्षाका कारण जिल्लाभित्रका यी सडक तथा बाटाघाटा अझै पूर्णरूपमा सुरक्षित नभई जोखिमपूर्ण र जीर्ण अवस्थामा सञ्चालन भइरहेकाले वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ। अत्यावश्यक यात्रा गर्नुपर्ने भए नजिकको प्रहरी प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

अत्यावश्यक सेवाका सवारी साधनले भने नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्न सक्ने प्रशासनले जनाएको छ।

सम्बन्धित खबर