
काठमाडौँ । नेपाली मुवाथाई खेललाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा लैजाने दाबीका साथ ‘फ्युजन फाइट च्याप्टर-१’ आयोजना हुने भएको छ । प्रतियोगिता फ्रोथ फ्युजन प्रालिको आयोजनामा आगामी असोज २४ गते (अक्टोबर १०) काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (LOD) मा हुने भएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका २२ जना फाइटरबीच ११ वटा मुवाथाई भिडन्त हुनेछ । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको मुख्य भिडन्तलाई राखिएको छ ।
आयोजकले नेपाली कम्ब्याट स्पोर्ट्सलाई नयाँ व्यावसायिक उचाइ दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगितामा खेलाडीका लागि आकर्षक नगद पुरस्कारसमेत राखिएको छ । मुख्य भिडन्तका विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै, अन्य प्रो-फाइटका विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । थप तीन प्रो-फाइटका विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउनेछन् ।
सेमी-प्रो फाइटका विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले नेपाली मुवाथाई खेलाडीको क्षमता र अनुशासनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य रहेको बताए ।
उनका अनुसार ‘फ्युजन फाइट च्याप्टर-१’ एउटा खेल प्रतियोगितामात्र नभई नेपालमा कम्ब्याट स्पोर्ट्सको नयाँ युगको सुरुवात गर्ने प्रयास हो । प्रतियोगितालाई कान्तिपुर म्याक्स एचडीले ब्रोडकास्ट पार्टनरका रूपमा प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ । कान्तिपुर म्याक्स एचडी-२ र युट्युबमार्फत समेत प्रतियोगिता हेर्न सकिने आयोजकले जनाएको छ ।
त्यस्तै, म्याक्स अन एप ओटीटी पार्टनर, इसेवा टिकटिङ पार्टनर, रुटिन अफ नेपाल बन्द (RONB) र RONB Sports मिडिया पार्टनर तथा द प्लाजा हस्पिटालिटी पार्टनरका रूपमा जोडिएका छन्।
स्काइवाक फेसअफ पार्टनर, ग्रो इट प्रमोसनल पार्टनर र बिग ब्राकेट प्रोडक्सन पार्टनरका रूपमा आबद्ध छन् । प्रतियोगिता प्रत्यक्ष हेर्नका लागि टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । दर्शकले इसेवामार्फत टिकट खरिद गर्न सक्ने आयोजकले बताएका छन् ।
कार्यक्रम स्थलको गेट भने दिउँसो १२ बजे खुल्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको लक्ष्य नेपालमा मार्सल आर्ट्स तथा कम्ब्याट स्पोर्ट्सको उत्पादन र प्रस्तुतीकरणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो ।