नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

दियोपोस्ट संवाददाता

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि पाँच विकेटको शानदार जित हासिल गरेको छ।

जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले शुक्रबार अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।

कोरोगी एथलेटिक पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए । रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रन बनाएको थियो । उसका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले समान ३० रन बनाए भने नाङ्ग्याल खरोटी १७ रनमा अविजित रहे।

नेपालका कुशल भुर्तेलले चार विकेट लिए भने ललितनारायण राजवंशीले तीन विकेट लिए।

जितसँगै नेपालले समूह ‘ए’ मा दुई अंक जोडेको छ। अफगानिस्तानको पनि दुई खेलबाट दुई अंक छ। अफगानिस्तानले यसअघि पहिलो खेलमा घरेलु टोली जापानलाई ४८ रनले पराजित गरेको थियो।

नेपालले समूह चरणको तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ।