
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् ।
ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी असोज १२ गतेदेखि ईसेवाको नेतृत्व सम्हाल्नेछन् ।
यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा जगदीश खड्का कार्यरत थिए । उनको कार्यकाल सकिएपछि शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको हो ।
बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्मा यसअघि नबिल बैंकमा समेत लामो समय कार्यरत थिए । बैंकिङ क्षेत्रसँगै डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा नयाँ प्रविधिको प्रयोगका क्षेत्रमा समेत उनले काम गरेको अनुभव छ ।
बैंकिङ क्षेत्रमा रहँदा शर्माले डिजिटल प्रविधिको विस्तार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विभिन्न काम गरेका थिए । विशेषगरी डिजिटल रूपान्तरणसँग जोडिएका पहल तथा नयाँ प्रविधिको प्रयोगलाई संस्थागत रूपमा अघि बढाउने कार्यमा उनको अनुभव रहेको छ ।
शर्माले सेन्ट जेभियर्सबाट प्रवेशिका तह उत्तीर्ण गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको अध्ययन पूरा गरेका थिए । त्यसपछि दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका शर्माले काठमाडौँ विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।