पछिल्लो २४ घण्टामा चितवनको माडीमा अति भारी वर्षा, अहिले गण्डकी प्रदेशमा भारी वर्षा जारी

दियोपोस्ट संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा चितवनको माडी क्षेत्रमा अति भारी वर्षा भएको छ । मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा चितवनको माडीमा अति भारी वर्षाको मापन गरिएको छ ।

विभागका अनुसार चितवनको माडीमा पछिल्लो २४ घण्टामा २२२ दशमलव ४ मिलिमिटर वर्षाको मापन गरिएको छ । चितवनको माडीस्थित कल्याणपुरमा केन्द्रमा गरिएको मापनले त्यस क्षेत्रमा अति भारी वर्षाको मापन गरिएको हो ।

माडीपछि नवलपरासी पश्चिमको बर्दघाटमा अति भारी वर्षाको मापन गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २०७ मिलिमिटर वर्षाको मापन गरिएको छ ।

पछिल्लो ६ घण्टामा भने गण्डकी प्रदेशमा धेरै वर्षा भइरहेको छ । गण्डकी प्रदेशको पर्वत र स्याङ्जामा यति बेला भारी वर्षा भइरहेको छ ।

वर्षाको मापन गर्दा पछिल्लो २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम पानी परेमा त्यसलाई हल्का वर्षा, १० मिलिमिटरभन्दा बढी ५० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई मध्यम वर्षा र ५० मिलिमिटरभन्दा बढी एक सय मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ ।

त्यसै गरी पछिल्लो २४ घण्टाको अवधिमा एक सय मिलिमिटरभन्दा बढी २०० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई धेरै भारी वर्षा भन्ने गरिन्छ । यसै गरी २४ घण्टाको अवधिमा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा त्यसलाई मौसमविद्हरूले अति भारी वर्षा भन्ने गरेका छन् ।