सिराहाको सीमावर्ती क्षेत्रबाट ११० किलो गाँजासहित तीन जना पक्राउ

दियोपोस्ट संवाददाता

सिराहा । भारततर्फ लैजाँदै गरेको ११० किलो ७६० ग्राम गाँजासहित सिराहामा तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट ६ वटा बोरामा राखिएको उक्त परिमाणको गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका-२ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका-५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार उनीहरूले टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो । उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले उदयपुर, सिन्धुलीलगायत जिल्लाका विभिन्न स्थानबाट गाँजा खरिद गरी सिराहाका बलान, कमला, गागन र घुर्मी नदी तथा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।