
एजेन्सी- केही दिन अघि सञ्चारमाध्यमहरूमा एउटा भिडियो छ्यापछ्यापी देखा पर्यो । जसमा हातमा च्यातिएको चङ्गा लिएर आँखाभरि आँसु सहित गाजाको गल्लीमा भेटिएका बालक भन्दै थिए ‘नेतान्याहुलाई सन्तुष्ट पार्न, ट्रम्पलाई खुसी पार्न अनि काट्जलाई चित्त बुझाउन उनीहरू हामीले मन पराउने हरेक वस्तुबाट हामीलाई वञ्चित गर्न खोज्छन् ।’
गत आइतबार अर्थात् अगस्टको २३ तारिखमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षा मन्त्री इजरायल काट्जले गाजापट्टिमा कसैले पनि चङ्गा उडाउन नपाउने घोषणा गरेका छन् । उनीहरूको घोषणाको उल्लङ्घन गर्दै जबर्जस्ती चङ्गा उडाने जो कोही प्यालेष्टाइनी विरुद्ध बल प्रयोग गर्ने घोषणा गरेका छन् ।
यही घोषणापश्चात् प्यालेष्टाइनी बालक रुँदै गरेको त्यो भिडियो सामाजिक सञ्जाल एवम् सञ्चार माध्यमहरूमा फैलिएको थियो ।
नेतान्याहुले भनेका कारबाहीमा हवाई हमला, लक्षित हत्या एवम् आवासीय इलाकाका बस्ती खाली गराउने सम्मका गतिविधि पर्छन् ।
नेतान्याहुले भनेका छन् ‘ मैले त्यस्ता खालका सबै घातक हतियारहरू विरुद्ध सशक्त कारबाही गर्न रक्षा संस्थापन एवम् इजरायली रक्षा बललाई निर्देशन दिइसकेको छु । जहाँ देखा पर्छन् त्यही ठोक्नु! साथै जसले चलाउँछ, उसैलाई ठोक्नु भनिसकेको छु । गाजाको सीमानामा रहेका एवम् जहाँसुकै बस्ने हाम्रा नागरिकलाई जोगाउन जेजे गर्नुपर्छ गर्नु भनिसकेको छु’ ।
इजरायली सेनाका अनुसार गएको हप्ता इजरायली इलाका किब्बुज अफ नहल ओज नजिकै रहेको गाजाको सीमाना क्षेत्रमा चारवटा चङ्गा आकाशमा उड्दै इजरायली भूमिमा आएका थिए । यद्यपि त्यस्ता चङ्गामा कुनै ‘शङ्कास्पद’ वस्तु भने फेला परेका थिएनन् । त्यसरी आएका चङ्गाले आममानिसलाई कुनै जोखिम पनि सिर्जना गरेका थिएनन् । यिनै चङ्गा इजरायली भूमिमा आएको खबर लगत्तै नेतान्याहुको त्यस्तो घोषणा आएको थियो ।
इजरायली सेनाले भने यी चङ्गाहरू हमासले उडाएको आरोप लगाएको छ । त्यस्ता चङ्गामा प्रज्वलनशील पदार्थ राखिएको आरोप लगाउँदै तिनीहरूलाई गत वर्ष दक्षिणी इजरायलका केही भागमा असहज अवस्था निम्त्याएका बेलुन एवम् ड्रोनहरू जस्तै भएको भनेको छ ।
नेतान्याहुले घोषणा गरे लगत्तै इजरायलका युद्धक विमानहरू गाजाका अज-जावैदा सहरका साथै मध्यगाजास्थित सलह अल-दिन गल्लीका दुई ठाउँमा हमला गर्न थाले । हमलामा परेर कम्तीमा तीन जनाको ज्यान गयो । मारिनेमा एकजना चार वर्षीय बालक पनि थिए । हमलामा परेर अन्य केही स्थानियवासीहरू घाइते पनि भएका थिए ।
लगत्तैको सोमबार अर्थात् अगस्ट २४ तारिखमा इजरायले चौतर्फी घेरेर राखेको क्षेत्रको विभिन्न इलाकामा हवाई हमला गर्यो । हमलामा परेर कम्तीमा सात जना प्यालेष्टाइनीहरूको मृत्यु भयो । मारिनेमा दुई जना नाबालक थिए । अन्य दर्जनौँ घाइते भएका थिए ।
चङ्गालाई लिएर इजरायले आरोप लगाउने तथा आक्रमण बढाउने गतिविधि शुरु गर्ने समयको संयोग अनौठो छ । केही हप्ता अघिमात्रै अमेरिकी विशेष दूतको रूपमा जारेड कुश्नरले नेतान्याहुलाई गाजामाथिको आक्रमण घटाउँदै लैजान आग्रह गरेका थिए । अमेरिकाले मध्यस्थता गरिरहेको युद्धविराम सम्झौताको दोस्रो चरण अघि बढाउन उनले त्यस्तो आग्रह गरेका थिए । तर नेतान्याहुले भने चङ्गाको बहानामा आक्रमण थप चर्काइदिए ।
उता हमासले इजरायलका सबै दाबी खारेज गरेको छ । थप हिंसा मच्चाउनका लागी चङ्गालाई बढाइचढाइ गरेर इजरायलले बहानाको रूपमा अघि सारेको भनेको छ ।
हमासले चङ्गालाई लिएर लगाइएका सबै इजरायली आरोपहरूको खण्डन गर्दै विस्थापित प्यालेष्टाइनीहरूका शिविरमा रहेका मसिना केटाकेटीका खेलौनालाई गलत रूपमा व्याख्या गरिएको बताएको छ ।
हमासका प्रवक्ता हजिम कास्सेमले चङ्गाको सन्दर्भलाई लिएर इजरायलले दिन थालेको धम्कीलाई ‘नियोजित’ भनेका छन् । साथै प्यालेष्टाइनी जनता एवम् गाजाका बालबालिकाहरूमाथि ‘आक्रमण र हिंसालाई जायज देखाउनका लागी गरिएको प्रयास’ भनेका छन् ।
कास्सेमले ट्रम्प प्रशासन, वार्ताका मध्यस्थकर्ताहरू एवम् युद्धविराम सम्झौताका रक्षकहरू तथा ‘बोर्ड अफ पिस’लाई समेत इजरायलले शुरु गरेको ‘अनियन्त्रित आक्रमण’ रोक्न आग्रह गरेका छन् । ‘प्यालेष्टाइनी पक्षले पुरा पालना गरिरहेको’ युद्धविरामलाई इजरायलले बिथोल्न खोजेको आरोप समेत लगाएका छन् ।
उता ट्रम्पले स्थापना गर्न खोजेको ‘बोर्ड अफ पिस’ भने गाजाका बालबालिकाले उडाएको चङ्गाको विषयमा इजरायलको मागसँग मिल्न पुगेको छ ।
गत सोमबार इजरायली सरकारले ‘बोर्ड अफ पिस’लाई तीन दिने अल्टिमेटम दियो । जुन बोर्डको अध्यक्षता स्वयं अमेरिकी राष्ट्रपति ट्रम्पले नै गरिरहेका छन् । अल्टिमेटममा तीन दिन भित्र गाजाबाट चङ्गा उडाउन रोक्नुपर्ने भनिएको थियो । अन्यथा, इजरायलले थप आक्रमण चर्काउने भनिएको थियो ।
इजरायली सञ्चारमाध्यमहरूले नाम उल्लेख नगर्ने शर्तमा बोर्ड अफ पिसका एकजना अधिकारीको भनाई उद्धृत गरेका छन् । जसमा उनले ‘मसिना केटाकेटीले खेल्ने खेलौना रोक्ने कुरा पक्कै पनि अप्ठेरो काम हो’ भनेका छन् । तथापि अमेरिकी नेतृत्वमा रहेको बोर्ड अफ पिस भने इजरायलकै मागको पक्षमा उभिन पुगेको छ ।
गत मङ्गलबार, अगस्ट १५ मा इजरायली टेलिभिजन ‘आई ट्वेन्टिफोर न्युज’ले जनाए अनुसार बोर्ड अफ पिसका सदस्यले हमासलाई सो मामलाबारे खबर गरिसकेका छन् । खबर अनुसार उनीहरूले स्थापित संयन्त्र मार्फत कुरा गर्दै ‘चङ्गा उडाउने लगायत सबै आतङ्ककारी गतिविधि’ रोक्न सूचित गराएका छन् ।