
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज चितवन राइनोजले युवा तथा उदीयमान क्रिकेटरलाई लक्षित गर्दै ‘गैंडा कप २०२६’ आयोजना गर्ने भएको छ।
ग्रासरुट क्रिकेटको विकास, युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव प्रदान गर्ने तथा प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले एकेडेमीस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो।
गैंडा कपको पहिलो संस्करण आगामी असोज १४ गतेदेखि असोज १७ गतेसम्म हेटौँडास्थित गौरीटार क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका १२ क्रिकेट एकेडेमी सहभागी हुने चितवन राइनोजले जनाएको छ।
प्रतियोगितामा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए), क्रिकेट एक्सिलेन्स सेन्टरका भक्तपुर, बालुवाटार र बुढानीलकण्ठ शाखा, इस्टर्न क्रिकेट एकेडेमी, हेटौँडा स्पोर्ट्स एकेडेमी, मास्टर क्लास क्रिकेट एकेडेमी, एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमी, काठमाडौँ क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, भरतपुर क्रिकेट एकेडेमी र चितवन ट्रेनिङ सेन्टरलगायतका एकेडेमी सहभागी हुनेछन्।
चितवन राइनोजका अनुसार गैंडा कप क्रिकेट प्रतियोगितामा मात्र सीमित नभई ग्रासरुट क्रिकेटको विकास, खेलाडी विकास तथा प्रतिभा पहिचानप्रतिको क्लबको प्रतिबद्धताको हिस्सा हो। प्रतियोगितामार्फत युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्दै थप अवसर र एक्सपोजर प्राप्त गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ। विजेताले २ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।