अमेरिका, भदौ १७ । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको ‘सैद्धान्तिक सहमति’को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्।
अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्।
तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए।
उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ। तालिबान समूहले हमलापछाडि आफ्नो हात रहेको जनाएको छ।
विस्फोटमा कम्तीमा पाँचजना सर्वसाधारण मारिएका छन् भने कैयौँ घाइते भएका छन्। अफगान फौजलाई लक्षित गरी आक्रमण गरेको तालिबानले जनाएको छ।
विदेशीहरू बस्दै आएको एउटा भवनको परिसरलाई बमले निशाना बनाएको थियो र तालिबानले त्यसमा बन्दुकधारीहरू संलग्न रहेको जनाएको छ।