कश्मीरका लागि अन्तिम साससम्म सङ्घर्ष गर्ने पाकिस्तानी सेनाको उद्घोष

दियो पोस्ट  

काठमाडौं, भदौ १९ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले कश्मीरका लागि नचाहँदानचाहँदै पनि युद्ध गर्नु पाकिस्तानको बाध्यता हुने बताएका छन्।

उनले भने, “कश्मीरका लागि हामी अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लड्नेछौँ।”

“कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा स्वतन्त्रताको भावना छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर आउँछ,” प्रवक्ता गफूरले थपे।

भारतले कश्मीरमा हस्तक्षेप गरेपछि पाकिस्तान र भारतबीच तनाव चर्किएको छ।

यही परिप्रेक्ष्यमा कश्मीरबारे कुरा गर्न पाकिस्तानी सेनाका प्रवक्ताले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

कश्मीरलाई सन्देश

पत्रकार सम्मेलनमा उनले पाकिस्तानको भौगोलिक स्थितिलाई अन्तर्राष्ट्रिय जगत्‌ र क्षेत्रीय मुलुकहरूले बेवास्ता गर्न नसक्ने बताए।

कश्मीरी जनताले अहिले खेप्नुपरेको कठिनाइबारे आफूहरू अवगत रहेको भन्दै उनले अधिकार प्राप्तिको दिन आएरै छाड्ने बताए।

गफूरले भने, “पाकिस्तानको स्वतन्त्रताका लागि सन् १९४७ मा नभई सन् १८५७ मै प्रयत्न थालिएको थियो। कश्मीरको स्वतन्त्रताका लागि कुनै किसिमको सम्झौता गरिनेछैन।”

विशाल जनसङ्ख्या भएको भारतमा “हिट्लरका अनुयायी” सत्तामा रहेको उनको आरोप थियो।

गफूरले भने, “भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा छ। उनीहरूका कारण मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू खतरामा छन्। त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन।”

भारतप्रशासित कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको ‘फासीवादी’ सरकारले नेहरूका कदमलाई निमिट्यान्न पारेको सैनिक प्रवक्ता गफूरले आरोप लगाए। बिबिसी नेपाली सेवाबाट

सिफारिस