बेलायतमा निर्वाचन गराउने बारे संसदमा फेरी मतदानको तयारी

दियो पोस्ट  

लण्डन, भदौ २० । बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो ।

समयअघि नै निर्वाचन गराउने प्रस्तावमाथि संसदमा यसअघि पनि मतदान गराइएको थियो । पहिलो पटकको निर्वाचनमा प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत भएको थियो ।

वरिष्ठ मन्त्री याकोब रिस मोग्गाले अग्रीम निर्वाचनका लागि आफूले संसदमा प्रस्ताव पेस गर्ने तयारी गरको सांसदहरूलाई जानकारी गराए ।

बेलायती संसद् हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदानको नतिजा प्रधानमन्त्री जोन्सनको विपक्षमा आएका छन् ।

प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गर्नुभएको थियो तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो ।

त्यस्तै युरोपेली संघबाट बेलायतको बहिर्गमन ब्रेक्जिट बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसद्ले अस्वीकृत गरेको थियो ।

संसदमा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाएका थिए ।

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ छ हप्ताअघि प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री जोन्सन अहिले संसद्मा सहमति नजुट्दा संकटको घेरामा परेका थिए ।