भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहाको निकालिएको हो।
उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, “आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।”
ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाउन सक्ने ठानिएको छ।
यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो। हुन त केही मानिसहरूले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको बताउने गरेका छन्।
सन् २००७ सालमा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहाको जन्म दिएको बताइन्छ।
जुम्ल्याहा पाएपछि प्रसन्नता व्यक्त गर्दै मङ्गायम्माले भनिन्, “मानिसहरूले मलाई बाँझो भन्ने गर्थे। मैले धेरै पीडा झेलेकी छु। अतः मैले बच्चा जन्माउने निर्णय गरेँ। मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो ।”
श्रीमतीले जुम्ल्याहा पाएपछि श्रीमान् एरामती सीताराम राजाराव पनि उत्तिकै प्रफुल्ल छन्।
उनीहरूको बिहे सन् १९६२ को मार्च २२ तारिखमा भएको थियो। सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए।
केही दिनअघि उनीहरूकै क्षेत्रमा एक ५५ वर्षीया महिलाले बच्चा जन्माएकी थिइन्।