कञ्चनपुरमा ठूला आयोजना: प्रगति निराशाजनक

Diyo post  

– शेरबहादुर सिंह/रासस
कञ्चनपुर,भदौ २० । कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छन् ।

सन् २०२२ मा १५२ किलोमिटर लक्ष्य अनुसारको मूल नहर निर्माण सक्ने लक्ष्य लिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको गतिले किसानमा आशाभन्दा निराशा बढी छ । ‘एक दशकको अवधिमा १३ किलोमिटर मात्रै नहर निर्माण भएको छ’, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले भने, ‘पछिल्लो समय बजेट झन् घटेर आएकाले आयोजनाको कामले गति लिने छाँट देखिँदैन ।’

शुरुआतदेखि नै बजेट अपूरो मात्रै पाउने सिँचाइ आयोजनाको पछिल्लो समय भइरहेको १५ किलोमिटर नहरको काम पनि ढिलासुस्तीकै शिकार हुँदैछ । तीन वर्षमा निर्माण सक्ने गरी शुरु गरिएको नहर निर्माणको आधा अवधि सकिन लाग्दा पनि मुआब्जाको समस्या किनारा लाग्न सकेको छैन ।

‘गत वर्ष रु ८० करोड बजेट आएको थियो’, आयोजनाका निर्देशक थापाले भने, ‘यो पालि त झन् घटेर रु ४० करोड मात्रै विनियोजन भएको छ ।’ यद्यपि केही दिनअघि सुदूरपश्चिमका विकास निर्माणका कामको अनुगमन गर्दै आएको राष्ट्रिय योजना आयोगको टोलीले भने बजेट बढाउने आश्वासन दिएको छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्र गरी ३३ हजार ५२० हेक्टर सिँचाइ सुविधा पुग्ने भनिएको छ ।

त्यसैगरी यहाँ निर्माणाधीन हुलाकी सडक निर्माणको अवस्था पनि सन्तोषजनक छैन । अढाई वर्षको समयावधि तोकिएर तीन वटा प्याकेजमा हुलाकी सडक निर्माण थालिए पनि तीन वटै प्याजेकले समयमा काम गर्न सकेनन् । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले भने ५० देखि ५५ प्रतिशत काम सकिएको जनाएको छ ।

निर्माण कम्पनीको ढिलासुस्ती, काम गर्दा देखिएका अन्य विवाद, मुआब्जा समस्या र वनको प्रक्रिया लगायतका कारणले काम समयमा नसकिएको हो । कञ्चनपुरको दक्षिण क्षेत्रमा डोकेबजारदेखि–बेलौरी–बेल्डाँडी हुँदै दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि दुई वटा निर्माण कम्पनीलाई काम सक्दा थप साढे सात महीना अवधि थपिएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इन्जिनीयर पदमबहादुर मडैले बताए ।

‘पहिलो र अन्तिम प्याकेजको समय थप भएर आइसकेको छ’ इन्जिनीयर मडैले भने, ‘बीचको प्याकेजको पनि समय थप्न फाइल प्रक्रियामा अघि बढाएका छौँ ।’ उनले निर्माणका क्रममा देखिएका सबैखाले समस्या अहिले समाधान भइसकेको बताउँदै आगामी वैशाखसम्म काम सकिने दाबी गरे ।

‘सबैतिर अहिले सडक कालोपत्र गर्ने चरणमा पुगेको छ’, उनले भने, ‘निर्माण कम्पनीलाई पनि ताकेता गर्दैैछौँ ।’ तीन वटै प्याकेज २०७३ फागुनमा ठेक्का सम्झौता गरिएको थियो । डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर र बेल्डाडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ भने बीच भागमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा रु ४१ करोड ७६ लाख ६३ हजार बाबा–हंस–सिद्धिसाइँ जेभीले पाएको कार्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्करसम्म उत्तर–दक्षिण सडक सञ्चालन विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि कञ्चनपुरको क्षेत्रमा भने अहिलेसम्म शुरु भएको छैन । कूल ४२५ किलोमिटर लम्बाइको उक्त लोकमार्गले आर्थिक वर्ष २०७३र७४ बाट निर्माणमा गति पाए पनि कञ्चनपुरमा भने ‘ट्र्याक’ खोल्न भीमदत्तनगरमा सरोकारावाला निकायसित सार्वजनिक सुनुवाइ गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकांश स्थानीयवासीले यथाशीघ्र लोकमार्गको काम शुरु गर्न सुझाव दिएका छन् । लोकमार्गको ‘ट्र्याक’ खोल्ने क्रममा दार्चुला, बैतडी र डडेल्धुरासम्म केही प्रतिशत काम भए पनि कञ्चनपुरको ब्रह्मदेवमा तीन वर्षअघि दश किलोमिटर ट्र्याक खोल्ने सम्झौता भए पनि काम भएको छैन ।

कञ्चनपुरको क्षेत्रमा पर्ने लोकमार्ग वनको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० रिपोर्टका कारण ढिलो भएको बताइन्छ । यहाँको भीमदत्तनगरपालिका–९ का वडाअध्यक्ष रामनाथले तत्काल लोकमार्गको काम अगाडि बढाउनुपर्ने भन्दै लोकमार्ग विस्थापितहरुलाई उचित प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । ‘यो मार्गले भने ब्रह्मदेव क्षेत्रको विकासमा पनि टेवा पुग्छ’, अध्यक्ष नाथले भने, ‘समृद्धिका निम्ति पनि लोकमार्ग बन्नु जरुरी छ ।’ लोकमार्गको १५१ किलोमिटर ठेक्का व्यवस्थापन भए पनि लोकमार्गको २७४ किलोमिटर ठेक्कामा लैजान सकिएको छैन ।

यहाँको अर्को महत्वपूर्ण महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल पनि तोकिएको समयमा निर्माण सम्पन्न हुने सम्भावना कम छ । निर्माण कम्पनी काममा तदारुकताका साथ लागे पनि महाकाली पुल योजनाको कार्यालयले भने मुआब्जाको विवाद समयमा टुङ्ग्याउन नसक्दा कामको समय थप गर्नुपर्ने स्थिति सिर्जना भयो ।

महाकाली पुल योजनाका सूचना अधिकृत इन्जिनीयर सुलभ न्यौपानेले मुआब्जा लगायतका समस्याले निर्माण कम्पनीलाई काम गराउन नसकिएको स्वीकार गर्नुभयो । ‘मुआब्जाको समस्या समयमा सुल्झाउन नसक्दा पनि निर्माण पक्षलाई काम गर्ने ठाउँ दिन सकेनौँ’, उनले भने, ‘अब समस्या छैन, कामले गति बढाउँदै जान्छ ।’

उनले पुल निर्माणको भौतिक प्रगति ३५ प्रतिशत भएको जानकारी दिए । पुल बनाउन करिब नौ महिना समय थप भएको न्यौपानेले बताए । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारको लगानीमा ३६ महिनाभित्र पुल निर्माण गर्ने गरी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्शन कम्पनी ‘जोइन्ट भेन्चर’ सित सम्झौता गरिएको थियो ।

सम्बन्धित खबर