काठमाडौँ, भदौ २१ । डिपी ढकालद्धारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ विमोचन भएको छ । जागरण बुक हाउसद्धारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको सार्वजनिकीकरण कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उर्जामन्त्री बर्षमान पुनले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा नेकपा नेता घनश्याम भुसाल, लेखक तथा विश्लेषक हरि रोका, त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्री डा. कुसुम शाक्य र समाजशास्त्री डा. युवराज लुइँटेलले पुस्तकबारे चर्चा गरेका थिए । पुस्तकबारे बोल्दै नेता भुसालले विशेषतः नेपालका राजनीतिक दलका नेताहरुले हरेक दिन सो पुस्तक पढ्नैपर्ने बताए । नेता भुसालले नेपालको विभिन्न राजनीतिक परिवर्तन र त्यसबाट भएका उपलब्धी र कमजोरीहरुलाई पुस्तकले विवेचनात्मक रुपमा ब्याख्या गरेको कारण सबै बर्गका व्यक्तिलाई पुस्तकले सहि ज्ञान दिनेमा दुई मत नरहेको स्पष्ट पारे ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्री डा. कुसुम शाक्यले पुस्तकमा भएका केही कमिकमजोरीहरुलाई औँल्याएकी छिन् । उनले पुस्तकमा प्रयोग भएका केही भाषा र प्रविष्ट गरिएका तथ्यांकहरुलाई स्पष्ट पार्नका लागि आग्रह गर्दै पुस्तकले उठान गरेको मुलभुत पक्षहरु सकारात्मक रहेको बताएकी छिन् ।
पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक सार्वजनिक भएलगत्तै डिबि ढकाल विद्धान वर्गको भिडमा प्रवेश गरेको बताएका छन् । उनले पुस्तकमार्फत नेपालको अर्थराजनीतिक इतिहासलाई पाठकमाझ ल्याएर निकै महत्वपुर्ण कार्य गरेको भन्दै लेखक ढकालको प्रशंसा गरे ।