साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्।
तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए।
राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको छ।
यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा आएको हो।
अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थको आयातलाई भण्डारण गर्न सक्छन् तर अमेरिकी तेल भण्डार विश्वको सबैभन्दा ठूलो आपत्कालीन इन्धन भण्डार हो।
अमेरिकी राजनीतिज्ञहरूले यस्तो तेलको भण्डार स्थापना गर्ने अवधारणा सन् १९७० को प्रारम्भमा ल्याए।
मध्यपूर्वका देशहरूले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको परिवेशमा अमेरिकाले तेल भण्डार गर्ने योजना बनाएको थियो।
पेट्रोल निर्यात गर्ने देशहरूको समूह अर्गनाइजेशन अफ अरब पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजमा रहेका इराक, कुवेत, कतार र साउदी अरेबियाले सन् १९७३ मा भएको अरब इजरेली युद्धका क्रममा इजरेललाई समर्थन गरेको भन्दै अमेरिकामा तेल निर्यात गर्न अस्वीकार गरेका थिए।
त्यसवर्ष अक्टोबर महिनामा भएको उक्त युद्ध ३ हप्ता मात्रै चलेको थियो। तर उक्त तेल आपूर्तिको नाकाबन्दी जसले अन्य देशलाई पनि निशाना बनाएको थियो १९७४ को मार्च महिना सम्म निरन्तर रह्यो। त्यसका कारण उसले प्रति ब्यारेल ३ डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रति ब्यारेल पुगेको थियो।
नाकाबन्दीबाट प्रभावित देशमा पेट्रोल पम्पहरूमा कार लाम लागेका केही तस्वीरले त्यसबेलाको उक्त सङ्कटलाई राम्रोसँग चित्रण गरेका छन्।
त्यसैको सेरोफेरोमा सन् १९७५ मा अमेरिकी संसदले उर्जा नीति र संरक्षण कानून अनुमोदन गर्यो। त्यसकै आधारमा आपूर्तिमा अर्को ठूलो सङ्कट आउनसक्ने अवस्थाका लागि तयार रहन रणनीतिक इन्धन जगेडा केन्द्र स्थापना गरियो।