काठमाडौँ, असोज १ । पुँजीबजार २ दिनदेखि उकालो चढिरहेको छ । मंगलबार २७ अंकले बृद्धी भएको नेप्से बुधबार पुन २२ दशमलव ६८ अंकले बृद्धी भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजिबजारका बारेमा सकारात्मक अभिव्यक्ति दिएपछि नेप्सेमा सुधार आएको थियो । साताको चौथो दिनसम्म आइपुग्दा नेप्से एक हजार १ सय ७३ दशमलव ४२ बिन्दुमा पुगेको छ ।
बुधबार कुल १ सय ७१ कम्पनीको १६ लाख ४७ हजार शेयर कारोबार भएको थियो । नेप्से बढेपछि कारोबार रकम पनि बढेको छ । बुधबार करिब ४७ करोड भन्दा बढी रकमको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
लगातारको गिरावटपछि नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका छन् ।
बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको हो । यस दिन सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य१० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा वृद्धि हुँदा पनि कर्णाली विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ४ प्रतिशतले घटेको छ ।